टर्कीलाई कप्तानको लय खाँचो
17th June 2016
डर्बीमा इङ्ल्यान्डको असाधारण प्रदर्शन
17th June 2016
Show all

पीडाबीच क्रोएसियाको लक्ष्य

सेन्ट इटेन- टिमका दुई सदस्यको पारिवारिक बिछोडको पीडामा रहेको क्रोएसियाले शुक्रबार चेक गणतन्त्रसँग भेट हुँदा जितसाथ समूह ‘डी’ बाट युरोपियन च्याम्पियनसिपको अन्तिम १६ मा पुग्ने लक्ष्य राख्ने रक्षक डोमागोज भिडाले बताएका छन्।

आइतबार टर्कीमाथि १–० को विजय पाएको दिन क्रोएसियाका कप्तान डारिजो सर्नाका पिताको मृत्यु भएको थियो। टिमका मिडिया अफिसर टोमिस्लाभ पासाकले जानकारी गराएअनुसार गोलकिपिङ प्रशिक्षक मारिजान मिर्मिकका पिताको पनि मंगलबार बेलुकी मृत्यु भएको थियो।

सर्ना प्रशिक्षक एन्टे कासिकसँगै सोमबार पिताको अन्तिम संस्कारका लागि घर गएर त्यही दिन उत्तरी फ्रान्सको ड्युभिलेमा रहेको टिम क्याम्प फर्किएका थिए।

कडा ट्याकलबाट परिचित सेन्टर ब्याक भिडाले पितृशोकमा परेका कप्तान र बुधबारमात्र पिताको अन्तिम काजक्रियाका लागि घर गएका मिर्मिकका लागि टोली थप प्रतिबद्धतासाथ मैदान उत्रिने बताए। ‘हामी एउटा ठूलो परिवार हौं। त्यसैले टिमभित्रको कसैलाई यस्तो दुःख पर्दा हामी सबै शोकमा हुन्छौं। त्यसैले हामी शुक्रबार आफ्ना कप्तानका लागि मैदानमा शतप्रतिबत रूपमा डटेर प्रस्तुत हुनेछौं। मैदानमा हामी पूरा समय उनको पछि हुनेछौं। उनी एउटा महान खेलाडी र नेता हुन्। उनले शुक्रबार पनि शोकबाट शक्ति बटुल्दै झन उच्च प्रदर्शन गर्नेछन्,’ भिडाले बिहीबार पत्रकारसँग भने, ‘चेक बलियो प्रतिद्वन्द्वी हो। तर, टर्कीसँगजस्तै भावना र प्रदर्शनलाई निरन्तरता दिने हो भने हामी भोलि पनि जित हासिल गर्नेछौं।’

पहिलो खेलमा साबिक विजेता स्पेनसँग १–० ले पराजित भएका कारण शुक्रबारको खेलमा क्रोएसियाभन्दा चेक गणतन्त्र बढी दबाबमा हुनेछ। त्यसैले चेकको चुनौती सहज नहुने भिडाले स्विकारे। ‘उनीहरू राम्रा खेलाडीसहितको एउटा उत्कृष्ट टिम हो। पहिलो खेलमा पराजय भोगेको कारण उनीहरू खेलमा जोखिम मोल्ने पक्षमा हुने छैनन्,’ भिडाले भने, ‘उनीहरू काउन्टर एट्याकमा खतरनाक हुन सक्छन्। हामीले त्यो पक्षमा ध्यान दिनुपर्छ।’

छनोट चरणमा नेदरल्यान्ड्सजस्तो सदाबहार महारथीलाई दुवै लेगमा पराजित गरेको चेक पहिलो खेलमा स्पेनसँग पनि अन्तिम समयमा खाएको दुर्भाग्यपूर्ण गोलका कारणमात्र पराजित भएको थियो। स्पेनविरुद्ध एक्लो स्ट्राइकरमा खेलेका टोकस नेसिडले नकआउट चरणको आशा कायम राख्ने अभियानमा शुक्रबार प्रशिक्षक पावेल भर्बाले जोखिम मोलेर भए पनि आक्रामक रणनीतिमा टोली उतार्ने अपेक्षा गरेका छन्।

‘हामीबीच अहिलेसम्म रणनीतिबारे छलफल भइसकेको छैन। तर, हामीसँग शुक्रबार जितको विकल्प हुने छैन। त्यसैले हामी सक्दो आक्रामक उत्रनुपर्छ,’ उनले भने, ‘क्रोएसियासँग तीन अंक छ। उनीहरूसँग लुका मोडरिकजस्ता स्तरीय खेलाडी मिडफिल्डमा हुनेछन्। साथमा इभान राकेटिकको उपस्थितिले उनीहरूको आक्रमण थप प्रभावकारी हुनेछ। तर, हामी त्यसका लागि तयार छौं।’

Source: Nagric news game ले छापेको छ/

Leave a Reply

Your email address will not be published. Required fields are marked *