न्यायालयलमा पनि दण्डहीनताको अन्त्य हुनुपर्छ
(८ असार, ०६५)
पुनरावेदन बार एशोसियसन पोखराको यही असार २१ गते हुने निर्वाचनको लागि यतिबेला वकिलहरुलाई चुनावले तताई सकेको छ । मुख्य गरि प्रगतिशिल र प्रजातान्त्रिक कानुन व्यवसायीबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । चुनाव आउन दुइ हप्ता बाँकी रहँदा दुइ पक्षका खेमामा विभाजित भएकाहरुले अध्यक्ष पदका लागि आ-आफ्नै उम्मेदवारहरु देखाएका छन् । जसमध्ये प्रगतिशिलका तर्फबाट अधिवक्ता शुरेन्द्र थापामगर उम्मेदवारको रुपमा असार ६ गते मनोनयन दर्ता भएको छ । यता प्रजातान्त्रिकका पक्षबाट अधिवक्ता सारङ्गा सुवेदीको नाम मनोनयनमा परेको छ । यसै सन्दर्भमा चुनावको सेरोफेरोमा रही हाम्रा सहकर्मी मनोज घर्तीमगरले प्रगतिशिलका तर्फबाट अध्यक्ष पदका उम्मेदवार अधिवक्ता शुरेन्द्र थापामगरसँग गरेको कुराकानी ।
नेपाल मिरर - तपाई बारको अध्यक्षमा लड्दै हुनुहुन्छ ,बारलाई तपाईको खाँचो किन पर्यो ?
सुरेन्द्र - पहिले हामी अदालतको स्वतन्त्रताका निम्ती लड्यौं अहिले अदालतको स्वच्छन्दताको विरुद्ध लडेर अदालतको गरिमा र न्यायको दियो बाल्नको निम्ती हाम्रो खाँचो परको हो ।
नेपाल मिरर - अहिले पनि गरिवहरुले वकिललाई दिने पैसाको अभावमा मुद्धा लड्ने अवस्था छैन यदि तपाई अध्यक्ष हुनुभयो भने के गर्नुहुन्छ ?
सुरेन्द्र - हाम्रो अदालति कारबाही जंगबहादुरको पालादेखि नै एउटै परिपाटिमा आएको छ जसको कारण न्याय माग्न जानेहरुले वर्षौं कुर्नुपर्ने अवस्था छ । त्यस्तो परिपाटी अन्त गरि हुने खानेले मात्र न्याय पाउने गरिवले न्याय नपाउने परिपाटीको अन्तको निम्ती मैले आवाज उठाउनेछु ।
नेपाल मिरर - के भयो भने गरिबहरुले पनि न्याय पाउनेछन् ?
सुरेन्द्र - मुख्य कुरा राजनितिकि परिवर्तन भएपनि न्यायलयमा परिवर्तन भएको छैन र समय अनुसार न्यायलयमा आमूल परिवर्तन भयो भने गरिवले न्याय पाउँछन् ।
नेपाल मिरर - बार वकिलहरुको संस्था हो वकिलहरुले घुस खाएर घटनाको विषय वस्तुलाई नै फरक बनाई बहस गर्छन् भन्ने अरोप लाग्दै आएको छ नी तपाई के भन्नुहुन्छ ?
सुरेन्द्र - बार स्वंयमले त्यस्तो काम गर्दैन बारलाई राम्रो नराम्रो बनाउने काम हामी वकिलहरुमा भर पर्छ । मुख्यतया हाम्रो पेशा के हो भने अपराधिले पनि कानुन बमोजिम प्रतिरक्षा हुन पाउनुपर्छ भन्ने रहेको हुन्छ , त्यसैले कहीँ कतै छिटपुट रुपमा गहिराईमा नपुगेर यस्ता आरोपहरु पनि आउने गरेको हुनसक्छ । बहसको क्रममा आफ्नो पक्षको निम्ती प्रत्येक वकिलले तर्क पेश गर्न पाउने नैसर्गिक अधिकार हो ।
नेपाल मिरर - गरिवहरुको लागि वकिलहरुले बहस नै गर्दैनन् भन्ने व्यापक जनगुनासोलाई कम गर्न तपाईले के गर्ने योजना बनाउनुभाछ ?
सुरेन्द्र - त्यस्तो होईन ,गरिवहरुको निम्ती पनि निःशुल्क रुपमा मुद्धा लड्ने वैतनिक वकिलको व्यवस्था गरिएको हुन्छ । तर प्रक्रिया नबुझ्दा अदालतमा जाने हरुले न्याय छिटो छरितो नपाएको अनावश्यक खर्च भएको हुनसक्छ । र यस्को निम्ती हामीले प्रत्येक वकील साथीहरुलाई अनुरोध नै गरेर गरिव, असाहय व्यक्तिहरुको निम्ती निःशुल्क मुद्धा लड्नको लागि हामीले अनुरोध गर्ने योजना बनाएका छौं । त्यसको अलावा असाहय गरिवहरुको निम्ती मुद्धा लडेर सामाजिक प्रतिष्ठा आर्जन गर्ने एउटा होड हामीबीच चलाउनेछौं ।
नेपाल मिरर - वकिलहरुले आफूले खोलेको ल फर्ममा आउँछन् भनेर नागरिकहरुलाई अनावश्यक दुःख दिन्छन् भन्छन् नी के हो ?
सुरेन्द्र - मलाई त्यस्तो लाग्दैन ।
नेपाल मिरर - अहिले अध्यक्ष पदका लागि दावेदार मानिएकाहरुले चुनाव जित्नको लागि रक्सीको खोलो बगाईरहेका छन्, दैनिकरुपमा पार्टि गरीरहेका छन् भन्ने कुरा बाहिर आएको छ नी ?
सुरेन्द्र - हामी वकीललाई समाजले समाजिक अभियन्ता र न्यायालयले विद्धानको पगरि दिएको छ । तर हाम्रो चुनावी व्यवहार प्रवृत्ति हेर्दा यसमा आमुल परिवर्तन हुन जरुरी देखेको छु । मलाई सामाजिक अभियान्ता र विद्धानहरु रक्सी र मासु तथा अन्य प्रलोभनमा झुक्छन भन्ने लाग्दैन । तर एउटा अनौठको कुरा के छ भने अन्य हरेक खाले चुनावमा निर्वाचनको लागि निश्चित खर्च तोकिएको हुन्छ । बिडम्बना वकिलहरुकै चुनावमा कुनै खर्चको सिमा नै तोकिएको छैन । त्यसैले पनि आफ्नो पक्षमा चुनावी परिणामा निकाल्न यस्तो किसिमको खर्च गर्ने लत बसेको हो ।
नेपाल मिरर - आखिर वकिलहरुको सँस्था हो चुनाव नगरेरै सहमतिका आधारमा अघि बढ्न सकिँदैन ?
सुरेन्द्र - निश्चय नै देशको वर्तमान परिस्थिती सहमतिमा चल्ने गरेको छ । र हाम्रो भविश्य पनि यसैमा निर्भर छ । त्यसै भएर आजभन्दा दुइ वर्ष अगाडि सहमतिको बार बनाउने भनेर हाम्रा सहकर्मी साथीहरुलाई हामीले अध्यक्षको पद निर्विरोध रुपमा दिएका थियौं । तर अहिले आएर उहाँहरुले सहमति तोड्नुभो । फलत हामी निर्वाचनको मैदानमा छौं । र हाम्रो प्रतिस्पर्धा स्वस्थ रुपमा नै रहेका छ ।
नेपाल मिरर - पछिल्लो समयमा न्यायिक क्षेत्रमा भएका विभिन्न घटनाहरुले गर्दा नागरिकहरुको न्यायिक क्षेत्रप्रति अविश्वास बढ्दै गएको छ नी के भन्नुहुन्छ ?
सुरेन्द्र - निश्चय नै अदालतप्रति आएका गुनासाप्रति हामी गम्भीर भएका छौं । न्यायालयको आस्था र गरिमा बचाउने काम न्यायमूर्ति कानुन व्यवसायी र नागरिक समाजको हो । मान्छेहरु हरेक ठाउँमा हार खाएर आखिर न्यायलयको ढोका ढकढक्याउन जान्छ यस्तो अवस्थामा न्यायलयमा नै विकृति र विसंगती भयो भने आखिर न्याया माग्न कहाँ जाने ? त्यसैले न्यायालयप्रतिको विस्वास बढाउन सर्वप्रथम न्यायमूर्ति नै स्वच्छ र उहाँहरुको फैसलामा न्याय परेको हुनुपर्छ । गलत काम गर्ने न्यायधिसहरुलाई कारबाही गरेर न्यायालयलमा पनि दण्डहीनताको अन्त्य हुनुपर्छ ।
नेपाल मिरर - किन न्याय दिने न्यायलयमा पनि दण्डहीनताको अवस्था सिर्जना भएको होला ?
सुरेन्द्र - हामीकहाँ एउटा विडम्बना छ की कुनै न्यायधिसले अनियमितता गर्यो भने उसलाई दण्ड होईन ससम्मान निवृत्तिभरण दिएर जागिरबाट छुटकारा दिईन्छ यो प्रवृत्तिले गर्दा नै यस्ता घटनाहरु दोहोरिएका हुन् ।
नेपाल मिरर - न्यायधिसर वकिलका बारेमा कसैले पनि औलो ठड्याउन नसक्ने संचार माध्यमले समेत न्याधिसले गरेका कुकृतिको बारेमा समाचार लेख्दा उल्टै मानहानीको मुद्धा लगाउने डरले पनि यस्तो भएको हो भन्छन् नी ?
सुरेन्द्र - परिवर्तित अवस्थामा न्यायलयप्रति मुख खोल्नै हुन्न भन्ने प्रवृत्ति ठिक होईन । नागरिक समाज संचार माध्यमले स्वस्थ आलोचनाको माध्यमबाट अदालतको गरिमा बढाउन सक्छन् र उहाँहरुलाई त्यो छुट दिनुपर्छ । यस्तो छुट नदिएमा न्यायलयमा झन् अनियमितता,विसंगति र विकृति बढ्न सक्छ ।
नेपाल मिरर - अन्त्यमा हाम्रो अनलाईन पत्रिका नेपाल मिरर मार्फत के भन्नुहुन्छ ?
सुरेन्द्र - मेरो अभिमत राख्ने मौका दिनु भएकोमा नेपाल मिरर परिवारलाई हर्दिक धन्यवाद र प्रगतिको कामना ।
(समाप्त)
|